माघको महिना, कठ्याङ्ग्रिएको जाडो २०५६
साल ।
संखुवासभा जिल्लाको सरस्वती उच्च मा. वि.
चैनपुर (तत्कालिन मा.वि.) जिल्लाको राम्रो मध्ये एक विद्यालय । हाम्रो कक्षा ९ को बार्षीक परिक्षाको परिक्षाफल भर्खरै प्रकाशित भएर कक्षा १० को कक्षा संचालन हुने तयारी भैरहेको थियो ।
जुन सुकै विद्यालयले आयोजना गरे पनि सबै भन्दा जटिल कुरा
थियो हाजिरीजवाफको लागि विध्यार्थी (टिम) छनौट । ठूलै बिवाद हुने सिर्जना हुँदै थियो
तर प्र.अ. मुक्तिनाथ गौतम सरले सबै जिम्मा दिनुभयो पुरुसोत्म पोख्रेल सरलाई । एक
टिममा ३ जना हुनु पर्ने नियम अनुसार कक्षा ९ बाट एक जना र कक्षा १० बाट दुइ जना छान्ने निर्यण भयो
। र अन्त्यमा सामान्य ज्ञानमा अलि अब्बल कक्षा ९ बाट रत्नमणि गौतम तथा कक्षा १० बाट सहपाठि साथि गोबिन्द
प्रकाश निरौला र प्रमोद भट्टराई (म) । उक्त हाजिरी जवाफ प्रतियोगिता गर्ने हिमालय
मा. वि. हेदाङ्ना हाम्रो विध्यालय बाट पुरा २ दिनको हिंडाईमा पुगिन्थ्यो । त्यहि
योजना अनुरुप पहिलो दिन चैनपुरकै भञ्याङ्खर्कमा रत्नमणिको घरमा बसियो साथमा
हुनुहुन्थ्यो भुगोल बिषयका सर पुरुसोत्म पोख्रेल अर्थात हाम्रो समुहको टोलिनेता ।
यात्रा
दिन - १
बिहानै सुरु भयो
भन्ज्याङ्खर्क बाट यात्रा, अनि मेरो पिडा पनि त्यहिबाट सुरु भयो, कारण बुबाले
किनिदिनु भएको नयाँ जुत्ता । जुन हल्का सानो त्यो पनि आफ्नै हठले गर्दा किनकि निकै
राम्रो भएकोले साट्न नमानेको आफैले हो । जे भएपनि अब बिकल्प भनेको कि खाली खुट्टा
कि त्यहि साँघुरो जुत्ता, यात्रा अगाडि बढ्दै गयो साँघुरो जुत्ताको साथमा ।
दुःख सुख बाटो
लागियो भञ्याङ्खर्कबाट हेवा खोला तर्दै वाना, उकालो ओरालो हुँदै पुगियो सभाखोला,
भोकले पिडित हामी सरले खाने बारे कुरै ननिकालेपछि हामी निर्ह्य बनेका थियौं । कडा
मिजासको स्वभाव भएको कारण हामी कसैमा सरको अगाडि भोक लागेको कुरा भन्ने आँट भएन ।
भोकले त्रासलाई खाईदिन्छ भने झै अन्त्यमा सरलाई ठुलै आँटको साथ भोक लागेको कुरा
गरेपछि खाजाको रुपमा चाउचाउ खाईयो, स्वर्ग पुगेको अनुभुति लिएर ।
करिब दिउँसोको
करिब ४ बजे तिर जिल्लाको सदरमुकाम खाँदबारी बजार पुगियो । सानै उमेरमा त्यति धेरै
हिँडाई पहिलो पटक थियो । दुखाईको पिडा त्यतिनै, एक पाइला चाल्न मन नलाग्ने गरी र
त्यस्तै अवस्था गोबिन्द र रत्नमणिको पनि । होटलमा खाने बस्ने रहर खुबै भएको थियो
हामी तिनै जनालाई, किनकि हामी कोही घर छोडेर कहिल्यै बाहिर बस्ने गरी गएका थिएनौं ।
सरलाई सदरमुकामकै कुनै एक होटलमा बस्ने भन्ने अनुरोध गर्यौं तर सरले मान्नु भएन ।
हाम्रो रहर चाहाना त्यहि चकनाचुर भयो जतिबेला सरले गैरी पाङ्माको आफ्नै घरमा बास
बसाउने निर्यण गर्नुभयो, जाहाँ पुग्न सदरमुकाम बाट अझै २ घण्टा जति हिड्नु पर्थ्यो
।
सरको निर्णयको
अगाडि कस्को के चल्थ्यो र लागियो सरको पाइला पछ्याउदै । करिब २ घण्टाको उकालो बाटो
हिँडेपछि बल्ल तल्ल पुगियो सरको घरमा,
झमक्क साँझ परेपछि । मिठो मसिनो जस्तो भएपानि सरको बुढि हुनु भएकी आमाले पकाएको खाना
खएर अलि अलि भएपनि प्रतियोगिताको लागि तयारी गर्न सुरु गरियो । थाकाईको अगाडि
अध्ययन एक पल पनि टिकेन, कलिलो ज्यानको थकाई र दुखाईले तनै भाईलाई निन्द्रा देबीको
काखमा पुर्यायो ।
यात्रा
दिन - २
बिहान सरले
बोलाउँदा मात्र थाहा भयो घाम डाँडा माथि आइसक्न लागेछ ।
“उफ्! फेरी
हिँड्नु पर्ने, बेकारमा आईएछ ।” मैले गोबिन्दको कानमा खुसुक्क भने ।
“हो यार!” गोबिन्दले
सहमति जनाए ।
जे जस्तो भएपनि
हिँड्नु त छ नै । गैरी पाङ्मा बाट उकालो लागियो अनि छ्याङ्कुटी भन्ने ठाउँमा पुगेर
कालो चिया र ग्युकोज बिस्कुट खाईयो अनि लागियो चिचिला पाताल तिर, जहाँ बाट सुरु हुन्थ्यो अत्याधिक जाडो र घना जंगल बिचको बाटो । बाहिर जति नै टन्टलापुर घाम लागे
पनि बाटो पुरै हिलो र चिप्लो थीयो सितले ।
करिब ११ बजे तिर
त्यहिको एक साघारण होटलमा खाना खाने तयारी भयो । जाडो धेरै भएकोले आगो ताप्न तिनै
भाई चुलोको नजिकै घेरा हाल्यौं । त्यहि समय सर र होटल वाला दाई बिच भएको रमाईलो गफ
अझै पनि ताजा छ ।
“दाई
बिहे भयो?” सरले सोध्नु भयो ।
“अँ!
भयो ।" उत्तरमा दाईले भने ।
“छोरा
छोरि नि?” सरले फेरि सोध्नु भयो ।
“५
जाना छन् ।“ दाईले भने ।
“कति
धेरै त ? सरले सोध्नु भयो ।“
“के
गर्नु सर जडो छ, संगै सुत्यो भैहाल्छ ।“ दाईले भने ।
“अनि
अहिले त बजारमा धेरै सामान आएका छन् त बच्चा नहुने । था छैन ?” सरले सोध्नु भयो ।
“था
छ सर । तर तेस्तो प्रयोग गर्दा मजा आउदैन ।“ दाईले भने ।
सर बडो गज्जबले हास्नु भयो हामी तिन भाई भने मुख
रातो बनाएर आगो तापिरयौं । सायद अहिले भए हामी पनि खुब हाँस्थ्यौ होला ।
चिचिला बाट खाना
खाएर बाटो लागियो र पुगियो जिल्लाकै सुन्दर र रमणिय ठाँउ नुम । अरुण नदि भन्दा
केहि माथिको एउटा सानो बजार हो नुम । राम्रो सत्कार सहितको खानाको लागि अहिले सम्म
पनि प्रख्यात छ ।
करिब साँझको ५
बजिसकेको थियो नुम पुग्दा । त्यहाँ बाट हेदाङ्ना अरुण पारी नजिकै देखिन्थ्यो तर
पुग्न पुरा १ घण्टा लाग्थ्यो । करिब २ दिनको यात्रा गरिसकेमा हाम्रा कलिला
खुट्टाको लागि १ घण्टा पनि एक दिन सरह लाग्न थाल्यो ।
रहर बाट सुरु
भएको यात्रा बाध्यतामा परिणत भयो, अनि बाध्यतालाई शिरोपर गर्दै कलिला तथा भारी
पाईलाहरु हेदाङ्ना तर्फ लाम्काउन थालियो । एक घण्टाको कठिन हिँडाई पछि पुगियो
हेदाङ्ना बजार ।
यात्रा
दिन - ३
दुर्गम जिल्लाको
पनि दुर्गम ठाँउ रहेछ हेदाङ्ना, हरेक सामान हरुको दोब्बर भाउ सदरमुकामको भन्दा ।
सधैं १ रुपैयाको ४ वटा सुन्तले चकलेट किनेर खाएको मालाई २ वटा मात्र पाँईदा मनमा
खिन्नता हुनु स्भाबिकै थियो ।
थकाई धेरै
लागेको कारण आँखै नहेरि खाना खाएर सुत्ने तयारी गरीयो, तर सर चै पढ्नु पर्छ भनेर
दावाब दिईरहनु भएको थियो । हामि तिनै भाई पढ्न सक्ने अवस्थामा थिएनौं । र पनि सरको
अगाडि पढेको जस्तो गरेर सुतियो कतिबेला निदाईयो बिउझिँदा उज्यालो भैसकेको रहेछ ।
बिहान देखि नै
हाजिरिजवाफ प्रतियोगिताको लागि तयारीको चहालपहल सुरु भैरहेको थियो जब हामी हेदाङ्ना
बजारबाट १ घण्टाको बाटो तय गरेर हिमालय मा. बि. हेदाङ्नाको प्रांङण पुगेका थियौं ।
करिब करिब हिमालकै काखमा रहेको उक्त बिध्यालय हाम्रो भन्दा निकै सुन्दर थियो ।
आयोजक बिध्यालय
निकै टाढा भएर होला प्रतियोगिताको लागि जम्मा ४ बटा मात्र बिध्यालयको उपस्थिती
रहेको थियो । हिमालाय मा.बि. खाँदबारी, सरस्वती मा.बि. चैनपुर, मादि मा.बि. मादी र
वाना मा.बि. वाना जिल्लाकै उत्कृष्ट सरकारी बिध्यालयहरु बिचको प्रतिस्पर्घा कडा
हुने पक्का थियो । केहि औपचरिक कार्यक्रम सँगै सुरु भयो प्रतियोगिता । हाम्रो
दुर्भाग्य भनौ या तयारिमा कमि, हाम्रा लागि हेरक प्रश्नहरु जटिल लाग्न थाले ।
हाम्रो टोलिको तनाब बढ्दै गयो, आफ्नो र बिध्यालयको ईज्जत गाँसिएकोले म निमोठिएर
आयो । अन्तिम नतिजामा हामी चौथो भयौं हाम्रो बिध्यालय चौथो भयो । मन अमिलो भएर
आयो, एक ले अर्कोलाइ हेर्न नसक्ने अवस्था भयो, सरको अगाडि कसरी उभिने उपस्थित हुने भन्ने पिडाले जेल्यो ।
नतिजालाई
आत्मसाथ गर्नै पर्यो, आगामि प्रतियोगिताहरुमा मेहनत गर्ने प्रण गरियो र अन्त्यमा
जुनियर रेडक्रस सर्कलको बिध्यालयले पाउने अङ्क पाईयो भनेर चित्त बुझाईयो । त्यो अङ्कको प्राप्ति सँगै
हाम्रो बिध्यालयले जु.रे.स सम्मान पाउने पक्का थियो । हाम्रो प्रतियोगितामा
उपस्थितीले मात्र पनि बिध्यालय जिल्लामै उत्कृष्ट हुन बाट रोकिने थिएन, त्यसमै
हामी सिमित खुसि भयौँ ।
मेरो मनमा सन्नाटा छायो, अब घर कसरी फर्कने
? एक मिनेट आँखा चिम्लिए बुबा, आमा, बहिनि सम्झे अनि घर, आँखा खोले टिलपिल आँसुले
भरिएका रहेछन् । आफैलाई सम्हाले, साथिहरु र सर पर पुग्नु भएको रहेछ दुखेको खुट्टा
खोच्याउदै पछ्याएँ ।
साँझको खाना र बसाई हेदाङ्ना मै भयो, कोहि
साथिहरु रमाईलो गर्ने सोँचमा थिएनौं, प्रथम हुनेहरु रामाई रहेका थिए ।
यात्रा दिन - ४
बुबाले किनिदिनु भएको सानो तर राम्रो
जुत्ता प्रति मेरा सुनिएका र दुखेका खुट्टाहरु पटक्कै आकर्षित भैरहेका थिएनन् न त
म संग बिकल्प नै थयो । बिहान हेदाङ्ना बाट चिया र बिस्कुट खाएर, अरुण तेस्रो
जलबिधुत आयोजनाको बिधुत गृह परिरमा भएका स-साना घरहरु नियाल्दै नुम तिर उकालो
लागियो । करिब १० बजे तिर खाना खान नुम पुगियो । त्यहाँ बाट खाना खाएर फेरि उकालो
बाटो, जंगल, मच्छेपोखरी हुदै चिचिला पाताल छिचोल्न पाईलाहरु घिस्रिरहेका थिए ।
सानो चेडा, बिध्यार्थी जिबन, अनि भोक लागि
रहेने उमेर हामी तिनै जनाको समान बिशेषता थियो । बिहानको खानाले कति नै समय
टिक्थ्यो र ? पेट मामुसा डौडिन सुरु गरि सकेको थियो । खाजा खाने भन्ने बिषय कतै
निस्किएको थिएन, घरमा आमाले उमालिदिनु भएको चाउचाउको झोलमा बासि भात हालेर खाएको सम्झिए, आँखामा
भेल उर्लिहाल्यो ।
करिब ६ घण्टाको बाटो हिँडेपछि ४ बजे तिर
छ्याङ्कुटि आइपुग्यो खालि पेट र भारी खुट्टाहरु । छ्याङ्कुटिबाट जिल्लाको सदरमुकाम
खाँदबारी प्रष्ट र सुन्दर देखिन्थ्यो । अहिले भए त्यो सुन्दरताले भोक र थकान दुबै
मेटाई दिन्थ्यो होला तर त्यो उमेर त्यति साहित्यिक पनि थिएन, पेटले खाना र शरिरले
आराम मागिरहेको थियो ।
ओहो! सबको मुखमा चमक आयो, खाजा खान पाइने
भैयो भनेर । त्यो बेलाको मिठो खाजा भनेकै चाउचाउ अनि सबैको प्रिय पनि । भोकले
पिल्सिएको बेला त्यो तातो चाउचाउ काति छिटो खाईएछ पछि मुख पोलेर दुखेपछि मात्र
थाहा भयो ।
साँझको बसाई
पुनः सरकै घर गैरी पाङ्मामा भयो, सदरकुकामको ठुलो होटलमा बस्ने सपना फेरी फुट्यो ।
फर्किदा बस्न पाइएला कि भने आशा माथि पनि तुसारापात छायो । अत्याधिक दुखाई र पिडाको कारण म राम्रो संग
निदाउन सकिन रत्नमणि र गोबिन्द भने ढुक्क साथ निदाए ।
यात्रा
दिन - ५
बिहान उठ्दा
मेरो पाइला अगाडि चल्न सक्ने अवस्था न्युन भएको थियो तर घर पुग्न पुरा एक दिन
हिड्नु पर्ने छदै थियो । एक्कासि भक्कान्निएर आयो मन बाट, साथिहरुको कारण बाहिर
निकालिन । हुन त साथीहरुको पनि हालत मेरो भन्दा कम चै थिएन, किनकि त्यो दिन हाम्रो
हिँडाईको पाँचौं दिन थियो ।
बिस्तारै बाटो
लाग्नु बाध्यता थियो । बिहानको खाना खाँदबारीमा खाएर ओरालो लागियो । धेरै ठाँमा
बिस्राम गर्दै, बिश्वकै होचो अरुण उपत्यका हुदै सभा खोला पुग्दा दिउँसोको
टन्टलापुर घामले सेकिसकेको थियो । सोहि खोलामा एकछिन बिस्राम गरि सख्खर र पानि
खाएर उकालो लागियो ।
नाक
ठोकिने उकालो करिब ३/४ घण्टा हिडेपछि बल्ल पुगिन्थ्यो खराङ बाजार र उकालोको अन्त्य
पनि । म घिस्रिने अवस्थामा थिए, २ खुट्टाको साथ २ हात समेत, ४ पाउ टेक्दै खराङ
बजार पुग्दा म अर्धचेत अवस्थामा पुगेको थिए । साथीहरु चै म भन्दा अलि कम थकित ।
खराङबाट
मेरो घर पुग्न अझै ३ घण्टा हिड्नु पर्थ्यो, भने साथीहरुको २ घण्टा मात्र । मैले
खराङ बाट अगाडि बढ्न नसक्ने बताए पछि त्यहीँ ठुलोआमाको घरमा बस्ने निर्णय गरे ।
रत्नमणि, गोबिन्द र सर हरु चैनपुर तिर लाग्नु भयो । म सुनिएको हात्तिको जत्रो
खुट्टा लिएर खाटमा पल्टिएँ । दुइ दिनको आराम पछि मात्र घर फर्किएँ ।
अन्त्यमा
करिब
१६/१७ बर्ष बितिसक्यो त्यो कठिन यात्राको स्मरण अहिले पनि मनस्पटलमा ताजा छ । त्यो
पिडा अहिले पनि महसुस हुन्छ । मेरा मित्र गोबिन्द र रत्नमणिले त्यो यात्रा काति
सम्झिन्छन् थाहा छैन । मेरो आदरणिय पुरुसोत्तम सर ले कति सम्झिनुहुन्छ थाहा छैन ।
यो लेखाईले पक्कै केहि कुराहरुको स्मरण गराउला । अहिलेका मेरा हरेक भ्रमणले त्यो
पिडादायी यात्राको स्मरण गराउँछ र थप रोमान्चित बानाउँछ । मलाई फेरि हेदाङ्ना जान
मन लागेको छ । फेरि १ रुपैयाको २ वटा सुन्तले चकलेट पाइन्छ कि पाइन्न था छैन । सुन्छु
अहिले त नुम सम्म जिप गुड्न थालेको छ रे । फेरि जाँदाको यात्रा स्मरणदायि नहोला तर
पुरानो यादले पक्का प्रफुल्लित पार्ने छ ।
0 comments:
Post a Comment